नामिबियासँग नेपालको दोस्रो हार

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ मा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गर्नुभएको थियो । तर, सातौं ओभरमा नेपालले २ विकेट गुमायो ।

ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाउनुभयो । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट हुनुभयो ।

आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाउनुभयो । दुवैले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्‍याउनुभयो । त्यसक्रममा आसिफले अर्धशतक पनि पूरा गर्नुभयो ।

तर,२०औं ओभरको पाँचौ बलमा स्कोल्जले नै आसिफलाई एलबीडब्लू धरापमा पार्नुभयो । कप्तान रोहितकुमार पौडेल ९ बल खेलेर शून्यमै आउट हुनुभयो । भीम सार्की र कुशल मल्लले साझेदारीको संकेत देखाउनुभएको थियो, तर २७औं ओभरको तेस्रो बलमा लेगमा सर्ट खेल्ने क्रममा फाइन लेगमा क्याच आउट हुनुभयो ।

यस्तै, थप ४४ रन जोड्दा नेपालले बाँकी ४ विकेट गुमायो र ३७ दशमलव १ ओभरमा १६८ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका स्कोल्ज र निकोल लेफ्टी–इटनले समान ४–४ विकेट लिनुभयो भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसको नाममा १–१ विकेट रह्यो ।

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाको पनि सुरुवात राम्रो रहेन । मात्र १० रन जोड्दा ओपनर निको डाभिन (८) रनआउट हुनुभयो भने थप ७ रन जोड्दा रोहितकुमार पौडेलले जेपी कोट्जेको विकेट लिनुभयो । तर, माइकल भान लिंगेन र जेराल्ड एरास्मसले तेस्रो विकेटका लागि महत्वपूर्ण ५२ रनको साझेदारी गर्नुभयो । १३औं ओभरको पहिलो बलमा कुशल मल्लले लिंगेनको विकेट लिनुभयो ।

त्यसपछि एरास्मसले ठूलो साझेदारी त गर्न सक्नुभएन्, तर २२औं ओभरको अन्तिम बलमा आउट हुनुअघि अर्धशतक पूरा गर्नुभयो । ५६ बल खेलेका उहाँले ८ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाउनुभएको थियो ।

नेपालले थप ३ विकेट लियो, तर छैटौं नम्बरमा आएका जेजे स्मिथले अविजित ३४ रनको महत्वपूर्ण पारी खेलेपछि नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र कुशल मल्लको नाममा १–१ विकेट रह्यो ।

त्रिदेशीय सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँगै ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । अब नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्ने छ ।

Back to top button