गठबन्धनप्रति पार्टीमा ठूलो असन्तुष्टि छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र ठूलो असन्तुष्टि रहेको बताउनुभएको छ । आज झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘पार्टीभित्र यत्रो ठूलो असन्तुष्टि छ। यो सबै चिर्नका लागि नयाँ खालको संघर्षको आवश्यकता देखिएको छ।’

नेता खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनुभयो ।

उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो।

गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताउनुभयो ।

‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ’, उहाँले भन्नुभयो,‘सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन । यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ।’

उहाँले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताउनुभयो ।

Back to top button