नेपाल ‘ए’ ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले ३ म्याचको सिरिज २–१ ले जितेको छ ।

सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

यस्तै, ७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाल्नुभयो । उहाँले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गर्नुभयो ।

दत्त १४ रनमा आउट हुनुभयो । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गर्नुभयो । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट हुनुभएको थियो ।

तर, पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाउनुभयो । उहाँ ५८ रनमा अविजित रहनुभयो । आरोन जोनसनले ३६ रन जोड्नुभयो ।

नेपालका साहब आलमले ४ विकेट लिनुभयो भने शेर मल्ल र बसिर अहमदको नाममा १ विकेट रह्यो । यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६ दशमलव ६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्नुभयो । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट हुनुभयो । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

अर्जुन कुमाल २७ रनमा आउट हुनुभयो भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाउनुभयो । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९–१९ रनमा आउट हुनुभयो ।

यस्तै, क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २–२ विकेट लिनुभएको छ ।

Back to top button