इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा स्थान

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरूका मुद्दाले स्थान पाएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहरू तीन सिफ्टमा सञ्चालन गर्ने भन्ने दफाहरू उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य प्रकाश केसीले आफ्ना प्रस्तावहरू राख्नुभएको हो ।

उहाँले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्युनतम पारिश्रमिकमा एकरूपता कायम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै नयुनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरू राख्नुभएको छ ।

यस्तै, योजना आयोग, अर्थमन्त्रालयजस्ता महत्वपूर्ण निकायमा अनिवार्यरूपमा इन्जिनियरकै नेतृत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानीय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायमा २० प्रतिशत पेसागत क्षेत्रबाट वैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरू महासमिति बैठकमा राखिएको छ ।

Back to top button