प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी सभामुख घिमिरेले सांसद प्रेम सुवालले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव र बैंकिङ कसुर तथा सजाय तेस्रो संशोधन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदले जनाएको छ ।

Back to top button