त्रिविको उपकुलपति नियुक्तिमा खुल्ला प्रतिस्पर्धा गर्ने कुरा प्रधानमन्त्रीको नाटक मात्र: अनेरास्ववियु

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्तिप्रति आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले त्रिविको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जालझेल गरेको बताउनुभएको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले उपकुलपति नियुक्तिमा खुल्ला प्रतिस्पर्धाको नाटक गरेर आफ्नै मान्छेलाई नियुक्ति गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले हिजो माओवादी पृष्ठभूमिबाट पोखरा विश्वविद्यालयको उपकुलपति बन्नुभएका असफल पात्र डा.केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।

बराललाई शिक्षाको धरोहर त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गरिएको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘सिफारिस समिति गठन, खुला आवेदन आह्वान र अन्तिम ३ जना सिफारिस मध्ये पनि दोस्रो स्थानमा भएका व्यक्तिलाई नियुक्त गर्ने सुरु देखिनै विवादास्पद रहेको नियुक्ति प्रक्रियाले हामीलाई गम्भीर बनाएको छ ।’

यस्तै, अनेरास्ववियुले संसदमा सरकारले टेबल गर्न लागेको उच्च शिक्षा सम्बन्धी विधेयकमा आफ्ना माग समावेश गर्न सशक्त आन्दोलनको लागि तयारमा रहन मातहतका कमिटीलाई निर्देशन पनि दिएको छ ।

Back to top button