कोशी अस्पतालमा मेडिकल अधिकृतको भर्ना प्रक्रिया स्थगित

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा ३ जना मेडिकल अधिकृतलाई भर्ना गर्न अघि बढाइएको प्रक्रिया स्थगित गरिएको छ ।

स्वार्थपूर्ण र विवादास्पद हिसावले विज्ञापन गरेर आठौं तहको फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्त गर्न खोजिएको थियो।त्यसका लागि फागुन ४ गते विज्ञापन गर्दै ७ दिनको छोटो समय दिएर दरखास्त आह्वान गरिएको थियो ।

भर्ना प्रक्रिया स्थगित गरिएसँगै आफू निकटलाई करारमा अस्पताल भियाउन गरिएको चलेखल असफल भएको छ । विज्ञापन गरिएको पदमा दरखास्त लिएर अन्तर्वार्ताका भरमा ३ जनालाई सरकारी अस्पतालमा फागुन ११ गते चिकित्सक नियुक्त गर्ने तयारी भएपछि चौतर्फी विरोध भएको थियो ।

विकास समितिको निर्णय र विभागीय प्रमुखको राय एवं परामर्शबिना नै अन्तर्वार्तामार्फत मेडिकल अधिकृतमा सुटुक्क आफ्ना मान्छेलाई नियुक्ति दिने हिसाबले अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झालगायतको मिलेमतोमा विज्ञापन गरिएको हो।अन्तर्वार्ताको मिति र समय फागुन ११ गते बिहान ११ बजेलाई तोकिएको थियो । एउटै सूचनामा ३ वटा अलग–अलग विज्ञापन नम्बर राखेर शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएपछि सरोकारवालाले विरोध जनाएका थिए।

अस्पताल प्रशासनले बुधबार सूचना जारी गरेर प्राविधिक कारणले अन्तर्वार्ता तत्काललाई स्थागित गरिएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाको हस्ताक्षर रहेको सूचनामा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उल्लेख छ।

‘मिति २०८०–११–११ गते हुने भनिएको विज्ञापन नं ०७–२०८०–८१, ०८–२०८०–८१ र ०९–२०८०–८१ मेडिकल अधिकृत आठौं तहको अन्तर्वार्ता प्राविधिक कारणले गर्दा हाललाई स्थागित गरिएको बेहोरा अनुरोध छ। सो सम्बन्धमा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने छ,’ सूचनामा भनिएको छ ।

सञ्चार माध्यममा ‘कोशी अस्पतालमा रोकिएन मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल’ शीर्षकमा समाचार प्रकाशन भएका थिए । समाचार सार्वजनिक भएपछि चिकित्सक, कर्मचारी तथा सरोकारवालाको विरोधसँगै मनोमानी हिसाबले गर्न लागिएको मेडिकल अधिकृतको नियुक्ति प्रक्रिया स्थगित गर्न अस्पताल प्रशासन बाध्य भएको हो ।

स्रोतका अनुसार ‘सेटिङ’ मिलाउँदै आर्थिक चलखेल गरेर स्वार्थपूर्ण हिसाबबाट खुला प्रतिस्पर्धाबिना नै आठौं तहका चिकित्सक नियुक्त गर्न खोजिएको थियो। अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौं तहको ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमध्ये मेडिकल अधिकृतमा ५८, नर्सिङ अधिकृतमा ४३, स्टाफ नर्समा ३ सय ९६, बायोमेडिकल टेक्निसियनमा ७ र फार्मेसी सहायकमा १४९ जनाको दरखास्त परेको छ ।

तर, भर्नाका लागि परीक्षाको अलगअलग मापदण्ड बनाउँदै अस्पतालले गरेको विज्ञापन रद्ध गर्नुपर्ने आवाज उठिरहेको छ। त्यतिबेला पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिने तथा त्योभन्दा माथिको सातौं तहलाई अन्तर्वार्ता मात्रै लिएर नियुक्ति दिने गरी विज्ञापन गरिएको थियो। यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेको छ।

अस्पतालले दरखास्तका लागि २१ दिनको म्याद दिएर लिखित र अन्तर्वार्ता दुवैमार्फत १० जना मेडिकल अधिकृतलाई नियुक्त गर्ने गरी माघ ४ गते विज्ञापन गरेको थियो। पहिलो विज्ञापन विवादमा तानिएर छानबिनमा परेका बेला फेरि त्यसको ठीक १ महिनापछि मेडिकल अधिकृतलाई अन्तर्वार्तामार्फत नियुक्ति दिने भनेर ७ दिनको मात्रै म्याद दिँदै अर्को विज्ञापन गरिएको हो।

सिधैं अन्तर्वार्ताका भरमा ३ जना मेडिकल अधिकृत राख्न खोजिएसँगै विकास समिति र अस्पताल प्रशासनको कामकारबाहीमाथि प्रश्न उठेको छ। मनोमानी हिसाबले अध्यक्ष र मेसुको मिलेमतोमा एउटै पदका लागि १ महिनाबीचमा अलग–अलग विज्ञापन गरेर परीक्षाको मापदण्ड पनि फरक–फरक तोकिएपछि अस्पताल प्रशासन तथा समितिले गलत नियम राखेर काम गरिरहेको प्रष्ट भएको थियो ।

Back to top button