संसद् सुचारु गराउन सबै दलका सचेतकसँग सभामुख छलफलमा

काठमाडौं । प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाउनु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत विपक्षी दलका अवरोधका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाउनुभएको हो ।

बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन । बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

यस्तै, अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उहाँहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ । प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको छ ।

Back to top button