नेपाल १ सय ७२ रनमा अलआउट, नेदरल्याण्डको कसिलो बलिङ

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ४९ दशमलव ३ ओभरमा नेपालले १ सय ७२ रन बनाएर अलआउट भएको हो ।

नेपालका इनिङ सम्हालेर ब्याटिङ गरिरहँदा कुशल भुर्तेल ६६ रन बनाउनुभएर आउट हुँदा नेपालको ब्याटिङ धरमराएको थियो । इनिङको अन्त्यमा करण केसी र आरिफ शेखले नेपाली इनिङ उकास्न खोजेपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। करण केसीले २६ रन बनाएर आउट हुँदा आरिफ शेखले २२ रन बनाउनुभयो । आरिफले १ चौका तथा करणले १ चौका र २ छक्का प्रहार गर्नुभयो ।

भुर्तेलले ९३ बल खेल्दा ८ चौका प्रहार गर्नुभयो । नेपालका लागि आशिफ शेखले १७, कप्तान रोहित पौडेलले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आशिफले २ चौका र १ छक्का तथा रोहितले २ चौका प्रहार गर्नुभयो । अनिल साहले १ छक्का प्रहार गर्नबाहेक अन्य खेलाडीले बाउन्ड्रि प्रहार गर्न सकेनन् ।

टस जितेर बलिङ रोजेको नेदरल्याण्डका लागि बलरहरुले कसिलो बलिङ गरे। पहिलो विकेट ४२ रनमा झारेयता नेदरल्याण्डले नेपाली ब्याटरहरुलाई खुलेर ब्याटिङ गर्न दिएनन्।

नेदरल्याण्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले ३–३ विकेट तथा बस डिलिडेले २ विकेट र भानडर मेर्वेले १ विकेट लिनुभयो । यसअघिको खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ । जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेलको हो । लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्याण्ड १–१ खेल जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Back to top button