सुन प्रकरणः पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ पक्राउ पर्नुभएको छ ।

सुन तस्करीमा संलग्न रहेको अभियोगमा आज बिहान सामाखुसीबाट गुरुङलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार सीआईबीको टोलीले गुरुङलाई पक्राउ गरेको हो ।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे अनुसन्धान हुनुका साथै मुद्दा चलिरहेको छ । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ ।

अनुसन्धानका क्रममा दुबईबाट सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो। पर्वत जिल्ला घर हुने गुरुङविरुद्ध भन्सार कार्यालयले थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी गरेको छ ।

गुरुङलाई पक्राउ पुर्जी जारी भएपछि उहाँ फरार हुनुहुन्थ्यो । गुरुङलाई भन्सार कार्यालय बुझाइसकिएको सीआईबीका प्रवक्ता बोगटीले बताउनुभयो । गुरुङ डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत हो ।

Back to top button