संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्नुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताउनुभयो ।

तर, सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको भन्दै उहाँले भन्नुभयो,‘सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्छ ।’

उहाँले अघि भन्नुभयो,‘संख्यामा कम भएका कारण यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर,यो समस्यामा राप्रपा संसद र सडक अब दुवैतर्फ उभिन्छ ।’

देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उहाँले बताउनुभयो । राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो,‘सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा सरकार भएको बेला सर्वहारावर्गको अवस्था के छ भन्ने भृकुटीमण्डप र सिफलमा देखिन्छ ।’

Back to top button