राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिस डाँडामा आज बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

‘अधिकांशले नछोड्ने भनेका छन् । हामीले पनि आजको बैठकबाट उम्मेदवारी दिने निर्णय गरेका छौं।’ उहाँले भन्नुभयो।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री गुमाउने बित्तिकै संवैधानिक परिषद्‍मा शून्य उपस्थिति हुने भन्दै उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइरहेका छन्।

गठबन्धनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले अध्यक्षको दाबी गरिरहेको बेला माओवादी केन्द्रले उक्त पदको दाबी गरेपछि सत्तारुढ दलभित्र भागबन्डामा सकस पर्ने देखिएको छ।

हिजोको बैठकमा पनि अधिकांश नेताहरूले सत्तासीन कांग्रेसको भूमिकाबारे प्रश्न गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘१० वर्षे सशस्त्र युद्ध’को माओवादी हिंसा भनेर अवमूल्यन गरिएको, महामन्त्री गगन थापाको प्रस्तावमा चुनावी गठबन्धन नगर्ने भनेर किटान गरिएको तथा सत्तामा बसेर कांग्रेसका नेताहरूले विपक्षीको भूमिका निर्वाह गरेको भन्दै माओवादीका नेताहरूले बैठकमा असन्तुष्टि जनाएका थिए ।

Back to top button