मोरङबाट एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङबाट एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले मंगलबार एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गरेको हो । अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई यसअघि नै विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरिसकेको छ । अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवानाको फैसला गरेपनि प्रतिवादीहरू कैद र जरिवाना भुक्तान नगरिकन भागिरहेको पाइएको कार्कीले बताउनुभयो ।

पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार नै अदालतमा बुझाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ८ जना कैद र ५१ जना जरिवानाको फैसला भएका प्रतिवादीहरु छन् । जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग,ठगी,अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भएर पनि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको एसपी कार्कीले जानकारी दिनुभयो।

पक्राउ गरेर प्रहरीले पेस गरेपछि कैदको फैसला भएकाहरूलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार जरिवानाको फैसला भएकाहरु जरिवानावापतको रकम बुझाएर छुटेका छन् ।

मोरङबाट अझै ३ हजार ६ सय ४ जना फरार प्रतिवादी पक्राउ पर्न बाँकी छन् । अपराधमा संलग्न भएवापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार बनेका ठूलो संख्याका प्रतिवादी पक्राउ पर्न बाँकी देखिएको हो । एसपी कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गर्नुभएको छ ।

प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी पक्राउ पर्न थालेका हुन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं,’एसपी कार्कीले भन्नुभयो,‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

उहाँले विगतमा अपराधमा संलग्नहरु कतै फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न सबैमा आग्रह गर्नुभएको छ । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गर्न तत्काल प्रहरी परिचालन गरिने कार्कीले बताउनुभयो ।

Back to top button