वर्तमान गठबन्धनका कारण राष्ट्रियता कमजोर भयो : एमाले अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण राष्ट्रियता कमजोर भएको दावी बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकमा सुशासन कमजोर भएको र जनतामा निराशा पलाएको बताउनुभयो ।

उहाँले एमाले सरकार फेर्ने र गठबन्धन बदल्ने खेलमा नरहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो,‘राष्ट्रियता कमजोर भयो । मुलुकमा सुशासन र विकास कमजोर भयो । जनतामा निराशा पलायो। काम राम्रो गरेर निराशालाई हटाउनु पर्नेछ ।’

उहाँले प्रतिपक्षमा रहेकाले एमालेले सरकारलाई सुझाव मात्रै दिने बताउनुभयो ।

‘हामी मिसन ८४ मा छौं । मिसन ८४ मार्फत् राष्ट्रिय शक्तिलाई निर्णयक तहमा विकास गर्नुछ,’ उहाँले भन्नुभयो,‘राष्ट्रियता कमजोर भयो। सुशासन र विकास कमजोर भयो। अब राम्रो काम गरेर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुछ ।’

मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ कांग्रेसको सोच र चिन्तन नै नरहेको ओलीको टिप्पणी छ । ‘सत्तामा पुग्ने र त्यसलाई कसरी टिकाउने भन्नेबाहेक कांग्रेससँग कुनै सोच छैन। कांग्रेस अब पहिलेको कांग्रेस छैन। तपाईंहरुले सोचेजस्तो र खोजेजस्तो कांग्रेस छैन। कांग्रेस थोत्रो भयो,’ उहाँले भन्नुभयो,‘कांग्रेस अग्रगामी सोचमा अघि बढेको छैन। अगाडि बढ्नुपर्नेमा पछाडि फर्किन खोजिरहेको छ। कांग्रेसले गर्न खोजेको प्रतिगमनमा एमालेले साथ दिँदैन ।’

एमालेले थिति र विधि अनुसार जानुपर्छ भन्ने मान्यता राख्ने ओलीको जिकिर छ । ‘मन्त्रीहरु झण्डा हल्लाएर अदालतमा बयान दिन जाने। भ्रष्टाचारको मुद्दा लागेपछि अख्तियारमा जाने। अनि फर्किएर आएर सुशासनका कुरा गर्ने। भ्रष्टाचारको आरोप लागेमा राजीनामा गर्ने चलन थियो,’ उहाँले भन्नुभयो ।

यसअघि विवादमा परेर गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, हरिप्रसाद पराजुलीलगायतका मान्त्रीले राजीनामा दिएको प्रशंग केलाउँदै ओलीले भन्नुभयो, ‘राजीनामा गर्नु परो नि त। क्याबिनेटले बनाएको समितिले मान्छे मरेको घटनामा मन्त्रीकै दोष छ भन्दा पनि राजीनामा नदिने ?’

यस्तै, उहाँले गठबन्धन खरानीको डल्लो भएको र जुनसकै बेला पनि फुट्न सक्ने बताउनुभएको छ ।

Back to top button