नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले पायो १ सय ८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १ सय ८५ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाउनुभयो । उहाँ ५४ रनमा आउट हुनुभयो । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुक्नुभयो । उहाँ ४९ रनमा नट आउट रहनुभयो । स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट हुनुभयो ।

पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गर्नुभएको थियो । तर, अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गर्नुभयो । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गर्नुभएको हो ।

Back to top button