एमालेको प्रश्नः बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ललितपुरको बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै आजपनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरू सिटबाट उठेर दोषी मन्त्रीको राजीनामा माग गर्दै अवरोध जनाएका हुन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिनुभएको थियो । सांसद थापाले सरकारी प्रतिवेदनले बालकुमारी घटनामा दोषी ठहराएका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त किन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो भन्दै प्रश्न समेत गर्नुभएको थियो ।

‘बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोकेको हो,’उहाँले प्रश्न गर्नुभयो,‘सरकार जिम्मेवारी भएन। सरकार हरायो। प्रधानमन्त्रीको खोजि हुनुपर्यो। खोजि गर्नका लागि संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि? संसद स्थगित गर्नुपर्ने हो।’

यस्तै, उहाँले लघुवित्त,सहकारी र दुग्ध किसानका मागप्रति सरकारले वेवास्ता गरेको आरोप लगाउनुभयो ।

Back to top button