राष्ट्रियसभा अध्यक्षको विषय गठबन्धनबाटै टुंगो लाग्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यक्षको विषय गठबन्धनबाटै टुंगो लगाइने बताउनुभएको छ ।

आज चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कांग्रेस एक्लैले अध्यक्ष बनाउन नसक्ने भन्दै गठबन्धनबाटै टुंगो लगाइने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले अहिले गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले एक पार्टीभित्र अर्को पार्टीको विषयमा छलफल र कुराकानी हुनु सामान्य भएको जिकिर गर्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष पदमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ–आफ्ना उम्मेदवार उठाउने दावी गर्दै आएका छन् । राष्ट्रियसभा अध्यक्षका लागि यही फागुन २९ गते निर्वाचन हुँदै छ ।

Back to top button