आर्थिक पत्रकारलाई करिब १६ करोडको स्वास्थ्य बिमा

काठमाडौं । आर्थिक पत्रकारहरूलाई हिमालयन एभरेस्ट इन्सुरेन्समा १५ करोड ९६ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको हो ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गर्नुभएको हो । उक्त पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बिमाको अवधि एक वर्षको हुनेछ ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागिसमेत संस्था गम्भीर रहेको बताउनुभयो । यसैक्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो,‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं ।’

यस्तै, इन्सुरेन्स कम्पनीका सीईओ शाहले नेपाली बिमामा जोडिन आवश्यक रहे पनि सर्वसाधारणलाई बुझाउन नसकिएको भन्दै आर्थिक पत्रकारको संगठनको हैसियतले सेजनले बुझाउन अनुरोध गर्नुभयो । बिमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उहाँको भनाइ छ ।

Back to top button