उपनिर्वाचनको कार्यक्रम स्वीकृतः चैत्र २४ गते मनोनयन दर्ता हुने

काठमाडौं । निर्वाचन आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर–२ र बझाङ–१ (१ं) मा उपनिर्वाचन हुन लागेको हो ।

कार्यक्रमअनुसार २०८० चैत्र २४ गते बिहान १० बजेदेखि बेलु्का ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित हुने छ ।

उम्मेदवारहरूको विरोधमा उजुरीको समय २०८० चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ । सोहि दिनको दिउँसो ३ बजेदेखि चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरिने छ ।

यसैगरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । २०८० चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यस्तै, निर्वाचन कार्यक्रम अनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने छ ।

Back to top button