एमाले अध्यक्ष ओलीलाई तयारी गरिएको २ सय किलोको माला उपाध्यक्ष पौडेललाई लगाइयो

जनकपुर । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत गरिएको छ । एमाले नेता कार्यकर्ताहरूले जनकपुर विमानस्थलमा २ सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् ।

जनकपुर उपमहानगर कमिटीले तयार गरेको उक्त माला खासमा अध्यक्ष केपी शर्मा ओलीका लागि थियो । अध्यक्ष ओली नआएपछि विष्णु पौडेललाई नै लगाइएको हो ।

आज धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो । तर, ओली आउने कार्यक्रम स्थगित भयो र उहाँको स्थानमा उपाध्यक्ष विष्णु पौडेल आएपछि उहाँलाई नै सो मालाले स्वागत गरिएको हो ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका अनुसार अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थितिका कारण स्थगित भएको हो ।

Back to top button