जनकपुरमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ५ जना घाइते

जनकपुर । जनकपुरधाम स्थित एञ्जल्स स्कुल बसको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

घाइते सबैको उपचार मधेश स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको जिल्ला ट्राफिक कार्यालय, धनुषा जनकपुरधामले जनाएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उप–महानगरपालिका २३ विन्धीमा जनकपुरको एञ्जल्स स्कुलको प्र २–०२–००१क ०४३१ नम्बरको बसले ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

घाइते हुनेमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत ५ जना हुनुहुन्छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। सडक छेउमा हिँडिरहेका महिलालाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन्। विवाहका लागि माटो खन्न गइरहेका महिलाहरुको समुहलाई बसले किच्दा दुर्घटना भएको हो ।

दुर्घटनापछि आक्रोषित स्थिानीयले बसमा तोडफोड गरेका छन्। स्थिति नियन्त्रणको लागि प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Back to top button