प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्नुभएको हो, हामी राजीनामा दिँदैनौं : कांग्रेस मन्त्री

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहनुभएको छ ।

नयाँ सत्तासमीकरण र नयाँ मन्त्रीमण्डल बनाउन एमाले र रास्वपाका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेसँगै कांग्रेसको पदाधिकारी बैठक बसेको हो । बैठकस्थलबाट केहि मन्त्री बाहिर निक्लिएका छन्। उनीहरुले मन्त्री पदबाट राजीनामा नदिने बताएका छन्।

नयाँ मन्त्रीमण्डल बनाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन र नदिए बर्खास्त गर्ने सन्देश कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष दिनुभएको छ ।

पदाधिकारी बैठकमा निस्किएपछि कांग्रेस मन्त्रीहरुको राजीनामा के हुन्छ भन्ने प्रश्नमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ गठबन्धन बन्ने भएपछि स्वभाविक रुपमा राजीनामा दिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले गठबन्धन प्रधानमन्त्री प्रचण्डले तोड्नुभएकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताउनुभयो ।

‘प्रधानमन्त्रीले गठबन्धन तोडेको जानकारी दिनुभयो। कांग्रेसले गठबन्धन तोडेको होइन।’ उहाँले भन्नुभयो,‘नयाँ गठबन्धन बन्ने भएपछि राजीनामा दिनुपर्ने आवश्यकता छैन। स्वाभाविकरुपमा हामीले राजीनामा दिनुपर्दैन।’

Back to top button