मोरङमा सशस्त्रका डीएसपी झुन्डिएको अवस्थामा मृत फेला

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) आज दिउँसो झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।

धनपालथान गाउँपालिका–३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहनुभएका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रवक्ता तिमल्सिनाका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो । घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको उहाँले बताउनुभयो। बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । एसपी तिमल्सिनाले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताउनुभयो ।

अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।

Back to top button