सत्ता समीकरण फेरिएपछि कोशीमा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

विराटनगर । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।

२७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बन्नुभएको थियो ।

संविधानको धारा १६८ (५) बमोजिम नियुक्त हुनुभएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेश सभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाउनुभएको थियो ।

तर, आज नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । नेकपा एमालेका कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।

‘‘अब माथिको गठबन्धन भत्किएपछि उहाँ अल्पमतमा पर्नुभयो, गठबन्धन भत्किएपछि उहाँले नैतिकताका आधारमा आजभोलि नै राजीनामा दिनुपर्छ,’ उहाँले भन्नुभयो,‘अर्को सरकारका लागि प्रदेश प्रमुखले आह्वान गर्नुहुन्छ ।’

भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताउनुभयो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएपछि गत असोज २६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर, नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका कार्कीलाई नेकपा एमालेले समर्थन गरेपछि उहाँले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमत सांसद ४७ जनाको हस्ताक्षर बुझाउनुभएको थियो । कार्की मुख्यमन्त्री नियुक्त भएपछि एमाले पनि सहभागी भयो । तर, मुख्यमन्त्री नियुक्तपछि कार्की सत्ता गठबन्धनमै फर्किए र माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई पनि सरकारमा सामेल गर्नुभयो । त्यसपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

Back to top button