प्रचण्ड र ओली २–२ वर्ष प्रधानमन्त्री बन्ने

काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो सहमति अनुसार माओवादी केन्द्र र नेकपा एमालेले २–२ वर्ष सरकारको नेतृत्व गर्नेछन् ।

माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुको २ वर्षसम्म सरकार चलाउनुहुने छ । त्यसपछि बाँकी २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुने छ ।

कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेको छ । गठबन्धनका यी चार दलका शीर्ष नेताहरुबीच आठ बुँदे लिखित सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने लगायतका विषय उल्लेख भएपनि सरकारको नेतृत्व आलोपालो गर्नेबारे भने उल्लेख छैन ।

तर, माओवादी केन्द्रका एक शीर्ष नेताले भने,‘एक वर्षसम्म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिसक्नु भएको छ । अब बाँकी ४ वर्षमध्ये २–२ वर्ष प्रचण्ड र ओलीले आलोपालो सरकार चलाउने समझदारी भएको छ ।’ केन्द्रको समीकरण र समझदारी अनुसार प्रदेश सरकारमा पनि आलोपालो गर्ने शीर्ष तहमा छलफल भएको छ ।

प्रचण्ड र ओलीले २–२ वर्ष सरकारको नेतृत्व गर्दा आफूलाई काम गर्न सहज हुने गरी मन्त्रालय लिने विषयमा पनि समझदारी भएको माओवादीका ती नेताले बताए ।

प्रचण्डले नयाँ सत्ता गठबन्धनबाट एमाले, माओवादी केन्द्र र रास्वपाका १–१ जनालाई मन्त्रिपरिषदमा समावेश गरिसक्नुभएको छ । तत्कालका लागि एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल गरी ३ जना मन्त्री बन्नुभएको छ । तर, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

एमाले–माओवादीबीच नयाँ सत्ता गठबन्धनमा वामपन्थी र समाजवादी पक्षधरहरुलाई समेट्दै अघि बढ्ने समझदारी भएको छ । तर, राजा र राजसंस्थाको पक्षमा गतिविधि गर्दै आएको राप्रपालाई भने गठबन्धनमा सहमत नगराइने नेताहरुले बताएका छन् ।

Back to top button