कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट आजदेखि हुँदै

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको बयोजना तथा कोशी प्रदेश सरकारको प्रायोजनमा आजदेखि विराटनगरमा कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।

सात प्रदेश र तीन विभागीय टोली सहभागी यस प्रतियोगिताका खेलहरु बैजानाथपुरस्थित प्रस्तावित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ त्रिभुवन आर्मी क्लब कोशी प्रदेश मधेश प्रदेश र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ए मा रहेका घरेलु टोली कोशी प्रदेश कर्णाली प्रदेशसँग खेल्नेछ ।

यस्तै, आजै समूह बी मा रहेका गण्डकी र सुदूरपश्चिम बीच पनि खेल हुनेछ । पहिलो खेल १० बजे र दोस्रो खेल २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा समूह चरणका २०, दुई सेमिफाइनल र फाइनल गरी कुल २३ खेल हुनेछ ।

प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Back to top button