कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, तीनैजना मन्त्रीद्वारा राजीनामा

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी ३ जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आज पत्रकार सम्मेलन गर्दै मन्त्रीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई पदबाट राजीनामा बुझाएको जानकारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्र नेतृत्व गरेको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्री खड्गप्रसाद पोख्रेल, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र उद्योग वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीले राजीनामा दिनुभएको हो ।

उहाँहरूले आज सामूहिक रुपमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारमा गठबन्धन परिवर्तन भएपछि पार्टीको निर्देशन अनुसार आफूहरू पदबाट राजीनामा दिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री सिंहले आफूहरुले सरकारमा रहँदा कर्णालीको समग्र विकास, निर्माण र जनपक्षीय काम गर्नका लागि उल्लेख्य काम गरेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘ती कामहरू विस्तारै नागरिकहरूले अनुभूति गर्नेछन् । तर,संघमा सत्ता समीकरणमा परिवर्तन भइसकेपछि प्रदेश सरकारमा बसिरहन उचित नहुने ठानेर राजीनामा दिएका हौं।’

प्रदेश सरकारका सामाजिक विकासमन्त्रीको जिम्मेबारीमा रहेका खड्गप्रसाद पोख्रेलले भने पार्टी सरकारबाट बाहिरिए पनि प्रदेश सभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले कर्णालीको विकास र कर्णालीवासीको हितमा हुने कामहरूमा आफूहरूले सरकारलाई साथ दिने बताउनुभयो ।

Back to top button