गृहमन्त्रालय कसले लिने भन्नेबारे छलफल सुरु भएको छैन : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको बताउनुभएको छ ।

‘अहिले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश भैसकेको छैन’, महासचिव पोखरेलले भन्नुभयो,‘फलानाले गृह माग्यो, तिलानाले यो माग्यो भनेर बाहिर आएका प्रचार र दाबी दुवै झुटा हुन्।’

महासचिव पोखरेलले शक्ति बाँडफाँड अघि कुन–कुन पार्टी सरकारमा सामेल गर्ने भनेर नेताहरूबीच आन्तरिक छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारमा सहभागी दलको टुङ्गो लागेपछि बल्ल मन्त्रालय बाँडफाँडको विषय प्रवेश गर्छ।’ शक्ति बाँडफाँडका लागि चार दलमा बनेको कार्यदलका सदस्य समेत रहेका नेता पोखरेलले अहिलेसम्म चार दलबाहेक सरकारमा सहभागी हुन चाहने दलहरूको मनस्थिति बुझ्ने काम मात्र भएको उहाँले बताउनुभयो ।

‘सरकारमा सहभागी हुने दलको यकिन भएपछि मात्र कुन मन्त्रालय क–कसले पाउने भन्ने छलफलको विषय बन्छ’, उहाँले भन्नुभयो,‘कसैले मनको कुरा मिडियामा सार्वजनिक गरेका हुन सक्छन् त्यो बेग्लै पाटो हो, त्यसले सत्य र तथ्य बोल्दैन।’

महासचिव पोखरेलले प्रधानमन्त्रीका हकमा पनि लिखित सहमति नभएको बताउनुभयो। उहाँले अहिले प्रचण्डलाई नै निरन्तरता दिने त्यसपछिको दुई वर्ष एमालेले लिने मौखिक सहमति भएको बताउनुभयो। उहाँले भन्नुभयो,‘गठबन्धनको संस्कृति अनुसार पनि प्रधानमन्त्री आलोपालो गर्न सकिन्छ। तर अहिले नै त्यसमा पनि ठोस सहमति भैसकेको अवस्था होइन।’

Back to top button