‘रङ्गेली’ले उब्जाएको प्रश्न : ‘सिक्वेल’ नआएसम्म अन्याय

सुदिप कोइराला,

विराटनगर । महाशिवरात्रिको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र रङ्गेलीले के साच्चै रङ्गेली त्यस्तै हो ? भन्ने प्रश्न आम दर्शकमा उब्जाएको छ ।

मोरङ जिल्लाको पूरानो सदरमुकाम रहेको रङ्गेलीको ऐतिहासिकतालाई यस चलचित्रले समेट्न सकेको छैन । बरु रङ्गेली संगठित अपराधको थलो हो भन्ने चित्रण गरेको छ । त्यसैले रङ्गेलीको सामाजिक सद्भाव, त्यहाँँको ऐतिहासिकता, सदरमुकाम विराटनगर सरेपछि रङ्गेलीलाई राज्यले गर्न नसकेको न्याय र रङ्गेलीको विकासलगायतका विषय समेट्न पनि अर्को भाग बन्न जरुरी छ ।

चलचित्रमा विपन्नताका कारण अपराधकर्ममा मान्छे लाग्छ भन्ने सँगै त्यसबाटै आर्थिक उनन्यन गर्न सकिन्छ भन्ने दृष्टान्त विजय भन्ने पात्रको माध्यमबाट देखाएको छ । विकल्प प्रस्तुत गर्न चलचित्र चुकेको छ । यस्तै ईंटाभट्टामा हुने बालश्रम शोषणदेखि लिएर विपन्नतामा समाज नै निर्दयी हुन्छ भन्ने भाव चलचित्रले दिएको छ ।

लागूऔषध तथा नक्कली नोटको कारोबारमा चुर्ल्लुम्म डुबेको रङ्गेलीले अन्य विषयलाई बिर्सेको छ । त्यही कारोबारमा रहेर नेता, प्रहरी र सरकारको समेत संलग्नता जबर्जस्त देखाइएको छ । अपराधको केन्द्र रङ्गेलीमा एक पछि अर्को समूह शक्तिमा आउन गरेको संघर्षले समाजका अन्य पाटोलाई समेट्न सकेको छैन ।


जुनकिरी र विजयको प्रेम सम्बन्धलाई पनि अपराधमै अन्त्य गरिदिएको छ । विपरीत कर्ममा रहेका जुनकिरी र विजयको प्रेमले सकारात्मक सन्देश दिन खोज्दै गर्दा पनि प्रेमले भन्दा अपराधले नै जितेको सन्देश चलचित्रमा देखाइएको छ ।

लावारिश बालक विजयलाई यादव परिवारले हुर्काएको बाहेक अन्य मानवीयता नदेखिएको चलचित्रमा शक्तिको लागि जेसुकै हुन्छ भन्ने देखाइएको छ ।

भगवान दादा पात्रले समाजमा स्थापित मान्छेहरू पनि कुकर्ममा हुन सक्छन भन्ने सन्देश प्रवाह गरेपनी उनीहरूका अगाडि राज्य र सुरक्षा निकाय निरीह हुन्छन भन्ने सन्देश चलचित्रले दिएको छ ।

गलत व्यक्तिलाई तह लगाउन मानबहादुर ढकालजस्ता सुरक्षाकर्मी पनि चाहिन्छ भन्दै गर्दा उसको पनि स्वार्थ देखाएर चलचित्रले सुरक्षा निकायको साख उठ्न दिएको छैन । यद्यपि अपराधको नजिक पुग्न सुरक्षाकर्मीले जस्तोसुकै काम गर्नुपर्छ भन्ने सन्देश जुनकिरी (दिलमाया मगर) को भूमिकाले देखाएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको रङ्गेलीमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, भरत गुरागाईं, प्रवीण खतिवडालगायतको अभिनयले दर्शकका लागि न्याय नै गरेको छ । त्यस्तै रङ्गेलीसंग सम्बन्ध राख्ने स्थान र स्थानीय कलाकारहरूको अभिनयले यस क्षेत्रलाई महत्त्व दिएको अनुभूति हुन्छ । अन्तत: चलचित्रको अर्को भाग आउने विश्वास दिलाइएको छ । त्यसैले रङ्गेलीको न्यायको लागि पनि अर्को भाग आउनैपर्छ ।

चलचित्रको विषयमा प्रतिक्रिया दिँदै रङ्गेली नगरपालिकाका प्रमुख दिलिप वगडीयाले चलचित्रले रङ्गेलीलाई न्याय गर्न नसकेको बताउनुभयो । चलचित्र हेरेर रङ्गेलीप्रतिको धारणा बनाइए गलत हुने उहाँको भनाईछ ।

Back to top button