निफमा एमाले अध्यक्ष ओली र राजेश हमालबिच सिनेमा संवाद हुने

काठमाडौं । अभिनेता राजेश हमालले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिनेमा संवाद गर्नुहुने भएको छ ।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने सेसनमा अध्यक्ष ओलीसँग अभिनेता हमालले संवाद गर्न लाग्नु भएको हो।

सिनेमा संवाद शीर्षकमा हुने छलफल दोस्रो दिन अर्थात् चैत २ गते शुक्रबार हुनेछ। उक्त संवाद बिहान ११ बजे सुरु भएर दिउँसो १ बजे सकिने आयोजकले जानकारी गराएको छ।

चैत १ गतेदेखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुनेछन्।

‘निर्देशक हराएको सूचना’ सत्रमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीले छलफल गर्नुहुने छ । फिल्ममा लैंगिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा र गायिका आनी छोइङ डोल्माले विमर्श गर्नुहुने छ । दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुने जनाइएको छ।

छलफल शृंखलाअन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरकाबारे एकल प्रस्तुति दिनुहुने छ भने फिल्म समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनुहुने छ ।

‘सिनेमाका नयाँ बजार र अवसर’ शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङले छलफल गर्नुहुने छ । आनी छोइङको जीवनप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा–नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु हुने जनाइएको छ । फेस्टिभलमा ४० देशका ८८ फिल्म देखाइने भएको छ ।

Back to top button