आज पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । सद्भावनाको पर्व होली ‘फागु’ आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व भोलि भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिनुभएछ । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाउनुभयो। यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।

Back to top button