फिल्म ‘महाजात्रा’ले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्नुभएको छ । सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उहाँले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिनुभयो ।

अध्यक्ष ‌ओलीले फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोकेको बताउनुभयो ।

‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन्। यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ ।’ अध्यक्ष ओलीले भन्नुभयो,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ। फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ।’

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, एमाले स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्त, गायिका तथा नेतृ कोमल ओली लगायतका ४० जना नेताले फिल्म हेर्नुभएको थियो ।

Back to top button