धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने कोशी प्रदेश सरकारको तयारी

धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा अ‍ौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालन गर्ने तयारी थालेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिनुभएको छ ।

औद्योगिक ग्राम क्षेत्रको आज अवलोकन गर्नुभएका मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनी समेत दिनुभएको छ ।

औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो । जसमा सेनेटरी प्याड र खाध्यान्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम रहेको छ ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गर्दा पूर्वी पहाडी क्षेत्रको जनजीविका सहज हुने भन्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनालाई जोड दिनुपर्ने बताउनुभयो ।

ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

Back to top button