कांग्रेसलाई जनताले नै सत्तामा पुर्‍याउँछन् : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कांग्रेसका लागि सत्ता ठूलो नभएको बताउनुभएको छ ।

आज कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्तामा जान कांग्रेसले हतार गर्न नहुने बताउनुभएको हो ।

‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं। नेपाली कांग्रेसलाई यो देशले आफै सत्तामा पुर्‍याउँछ,’उहाँले भन्नुभयो,‘त्यसका लागि हतार नगरौं।’

नेता पौडेलले नयाँ गठबन्धन आफै सिद्धिने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले जुन गठबन्धन बनेको छ। यो चीरस्थायी हुँदैन। उहाँहरूले आ–आफूबीचमा झगडा गरेर यो गठबन्धन समाप्त गर्नुहुनेछ।’

नेपाली कांग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो? के गर्न जाने हो? कुन–कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकमा देखिएका समस्याहरूलाई समाधान गर्न सके मात्रै पार्टीलाई अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले नेपालको लोकतन्त्रिक आन्दोलनमाथि देखिएका खतराविरुद्ध लड्न नविन्द्रराज जोशीजस्तै अटल भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

लोकतन्त्रको व्यवस्थालाई संस्थागत गर्ने सवालमा र समस्या अन्त्यका लागि कांग्रेस सदैव तयार रहने उहाँको भनाइ छ ।

Back to top button