एसईई परिक्षा सुरु, ५ लाख भन्दा बढी विद्यार्थीले परिक्षा दिँदै

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिन्छ । एसईई परीक्षा २७ गतेसम्म सम्पन्न हुनेछ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले भाग लिँदैछन् ।

जसमध्ये २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना रहेका छन् । परिक्षाका लागि २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

Back to top button