विराट गोल्ड कपः आज आर्मी र एनआरटी भिड्दै

विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिता आज साँझ विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाडौं बिच प्रतिस्पर्धा हुँदै छ ।

विराटनगरको सहिद रङ्गशालामा ५ः४५ बजे सुरु हुने रात्रिकालीन गोल्ड कपको दोस्रो दिन आर्मी र एनआरटी खेल्दै छन् । एनआरटी केही दिन अगाडी सम्पन्न भएको २४ औँ बुढासुब्बा गोल्ड कपको विजेता टिम हो । एनआरटीले बुढासुब्बा गोल्ड कपको क्वाटर फाइनल खेलमा आर्मीलाई २–१ गोलले पराजित गरेको थियो ।

आर्मी बुढासुब्बा गोल्ड कपको हारको बदला लिने योजनको साथ मैदान प्रवेश गर्दै छ भने एनआरटी जित निकाल्दै यो सिजनको दोस्रो गोल्ड कपको उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासको साथ खेल्दै छ ।

हिजोको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी)ले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ । आरटिएफसीले शनिवार घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी छ ।

गोल्ड कपको विजेताले ११ लाख र उप विजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

Back to top button