विराट गोल्डकप: आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा आज (शुक्रबार) भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गर्नुभयो । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिलाउनुभयो । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गर्नुभयो । डिबक्स भित्र बैकल्पीक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल हुन पुग्यो ।

आर्मीले खेल सुरु भएको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाउ गर्नुभयो । आर्मीका जिलेस्पी जंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाउनु भयो ।

त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन चुक्नुभयो । १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल हुन सकेन ।

४० औं मिनेटमा जय गुरुङले निकालिदिएको  वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गर्ने अवसर गुमाउनुभयो । त्यसलगतै उहाँको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।

दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोल गर्न नसक्दा घर फर्किन बाध्य भयो  । ५२ औं मिनेटमा जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबरीमा ल्याउन सकेन ।

६५ औं मिनेटमा एनआरटीका संजीव विष्टको वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर गयो । ७३ औं मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल हुन सकेन ।

८६ औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुम्यो ।

हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार व्यहोर्नु परेको बताउनुभयो । ‘नियमित खेलहरु भइरहेको कारणले हामीले धेरै नयाँ खेलाडीहरु समावेश गरेका छौं । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उहाँले भन्नुभयो ।

जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताउनुभयो । ‘केटाहरुले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उहाँले भन्नुभयो, ‘क्वाटरफाइनलमा थप नयाँ खेलाडी राख्नेछौं ।’

प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

भोलि (शनिबार) पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ ।

Back to top button