नेपाल पत्रकार महासंघ स्थापना दिवसमा मोरङमा प्रभातफेरी

विराटनगर । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज प्रभातफेरी निकालेको छ ।

महासंघ मोरङ शाखाको कार्यालय विराटनगरको कलेज रोडबाट निस्किएको प्रभातफेरी महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुनः कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, विभिन्न पत्रकार संघसंगठनका अध्यक्ष तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

कोण सभामा महानगर प्रमुख कोइरालाले सञ्चारकर्मीहरुले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै समाजमा पछाडि परेका जनताका समस्यालाई प्राथमिकता दिन आग्रह गर्नु भयो ।

उहाँले महानगरको काम कारवाहीकोप्रति समाचारमा आउने स्वस्थ आलोचनाको स्वागत गर्दै सञ्चारकर्मीहरुको वृत्ति विकासमा महानगरको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महासंघका मोरङका कार्यवाहक सभापति तारा आचार्य, सचिव नेत्र पि अधिकारी, पूर्वसभापतिद्वय यज्ञ शर्मा र बन्धु पोखरेलले सञ्चारकर्मीहरुले पूर्वाग्रहरहित भएर समाचार सम्प्रेषण गर्नका साथै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

Back to top button