ट्याक्सी दुर्घटना अपडेटः मृतक ५ जनाकै सनाखत, १ अझै बेपत्ता

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ । उक्त दुर्घटनामा १ जना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।

दुर्घटनामा परी ट्याक्सी चालक गोर्खा–७ का अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल , ट्याक्सीमा सवार जिल्ला गोर्खा–७ का नै ४१ वर्षीया हरिमाया रोकाय , ७० वर्षीया जुनकिरी रोकाय ,२८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो।

बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ । उहाँको खोजी कार्य भइरहेको जनाइएको छ।

ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Back to top button