विराट गोल्डकपः थिम्पुलाई हराउँदै घरेलु टिम सांग्रीला सेमिफाइनलमा

आज एनआरटी र सिक्किम ड्रेगान भिड्दै

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा गएराति सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रीला अन्तिममा प्रवेश गरेको हो ।

जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीचको बिजेता टिमसँग खेल्नेछ । जितको लागि सांग्रीलाको तर्फबाट आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गर्नुभयो ।

आरटिएफसीको तर्फबाट सोरब दोर्जेले दुई गोल फर्काउनुभयो । खेल सुरु भएको २६ औं मिनेटमा बिवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाईंले हेडमार्फत आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो ।

पहिलो गोल खाएपछि आरटिएफसी दवावमा पर्‍यो । सांग्रीलाले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशिल राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पास सुशिलले सदुपयोग गर्दै गोल गर्नुभयो ।

घरेलु दर्शकको साथ पाएको सांग्रीलाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । दोस्रो हाफको ५० औंं मिनेटमा विदेशी खेलाडी स्याङले अर्को गोल गर्नुभयो । आरटिएफसीको गोल किपर डेन्डुप अगाडी बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुम्न पूग्यो ।

६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काउनुभयो । केल्जाङ जिग्मेंले गरेको प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गर्नुभयो । ७४ औं मिनेटमा आरटिएसफीका जिग्मेले निकालिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोल अन्तरमा पुर्‍याउनुभयो ।

खेलको प्लेयर अफ द म्याच सांग्रीलाको महेन्द्र कार्की घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो । आजको खेल एनआरटी फुटबल क्बल काठमाडौं र सिकिम ड्रेगान भारतबीच हुनेछ ।

हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताउनुभयो । जितपछि प्रतिक्रिया दिदै सांग्रीला फुटबल क्बलका प्रशिक्षक राजु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताउनुभयो । उहाँले सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुने समेत बताउनुभयो ।

Back to top button