नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल खेल्दै

काठमाडौं । नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दै छ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

शुक्रबार पहिलो खेलमा नेपाल ‘ए’ले लोकेश बमले शतकीय पारी खेले पनि नेपाली टोली विजयी हुन भने सकेन् । आयरल्याण्डले दुई सय २३ रनको चुनौती दिए पनि नेपालको पारी १९ दशमलव ३ ओभरमा २ सय १ रनमा समेटियो । नेपालका लागि बमले ५६ बल खेल्दै ९ चौका र ८ छक्काको मद्दतमा १ सय ६ रन बनाउनुभएको थियो । यस्तै आशिफ शेखले ४९ रन बनाउनुभयो ।

आयरल्यान्ड ‘ए’सँगको पहिलो खेलमा बलिङतर्फ भने नेपाल ‘ए’ का कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिनुभएको थियो ।

यस्तै, शनिबार भएको दोस्रो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सामु जितका लागि २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल ‘ए’ले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो । उक्त खेलमा ब्याटिङतर्फ देव खनालले ४७, बसिर अहमदले २७, बिनोद भण्डारीले २६ र लोकेश बमले २५ रन बनाउनुभयो ।

बलिङतर्फ भने सो खेलमा नेपाल ‘ए’का सागर ढकालले ३ तथा कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिनुभयो । दुवै खेलमा नेपाल ‘ए’ले सुरुआती ब्याटिङ उत्कृष्ट गरेपनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो । मध्यक्रम र तल्लोक्रमका ब्याटरले सम्हालिएर खेल्न नसक्दा आयरल्यान्ड ‘ए’सँगको शृङ्खला नेपाल‘ए’ले गुमाउन पुगेको हो । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग बुधबारदेखि ३ एकदिवसीय सिरिज खेल्ने छ ।

Back to top button