आयरल्याण्ड एविरुद्ध नेपाल एको रोमाञ्चक जित

काठमाडौं । नेपाल ‘ए’ ले तेस्रो टी–२० खेलमा आयरल्याण्ड ‘ए’ माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । ३ खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ ।

२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाउनुभयो । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट हुनुभयो ।

एक समय ७ दशमलव १ ओभरमा ५२–४ को अवस्थामा पुगेको आयरल्याण्डलाई पाचौं विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको शानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राख्नुभएको थियो। आयरल्याण्ड ‘ए’ का ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट हुनुभयो । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाउनुभयो ।

नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिनुभयो । नारायण जोशी, कमलसिंह ऐरी र रासिद खानले १–१ विकेट लिनुभयो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपालको जितमा आरिफ शेखले ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेल्नुभएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोड्नुभएको थियो।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गर्नुभएको थियो । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट हुनुभयो ।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट हुनुभयो । रासिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोड्नुभएको थियो ।

आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १–१ विकेट लिनुभयो । नेपाल सुरुवाती २ खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाइसकेको छ । आयरल्याण्ड ए र नेपाल ए बीच अब एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

Back to top button