रास्वपाको कोर टिम नै सहकारी ठगीमा मुछिएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताउनुभयो ।

‘रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ । सूर्य दर्शन सहकारीबाट १ करोड प्रवाह भएको देखिन्छ,’ सांसद शर्माले भन्नुभयो ।

यसअघि, प्रतिनिधि सभाकै बैठकमा कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।

रास्वपाका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले हिजो कांग्रेसका सांसदद्वय रामकृष्ण यादव र कान्तिका सेजुवालले अन्य २ नेता समेत आरोपित रहेको भनी प्रश्न उठाउनुभएको थियो ।

आजको बैठकमा शर्माले रास्वपाका सहमहामन्त्री आचार्यको नामै लिएर सहकारीको रकम अपचलनको प्रश्नमा रहेको बताउनुभयो ।

साथै, रास्वपाको कोर टिम नै सहकारी ठगीमा आरोपित रहेको बताउनुभयो । ‘नयाँ बनेर आएको दलको सम्मान गर्दैगर्दा देश दुनियाँले सुन्नेगरी आग्रह गर्न चाहन्छु– त्यहाँ भित्र एउटा कोर टिम रहेछ । जो यो (सहकारी ठगी) समग्र गतिविधिमा सामेल छ,’ महामन्त्री शर्माले भन्नुभयो,‘त्यहाँ (रास्वपा)भित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

Back to top button