मेयर बालेनले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ ।

साइबर अर्थात् विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल हुनुहुन्छ ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिनुभएको थियो ।

सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आउनुभएको थियो । सोही क्रममा उहाँ १६ पुस २०८० मा निलम्बनमा पर्नुभएको थियो ।

महानगरले निलम्बन गरेपछि उहाँ उच्च अदालत पाटन पुग्नुभएको थियो । त्यसपछि कर्मचारी पौडेल र मेयरबीच द्वन्द्व सुरु भएको थियो ।

अनि पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरुले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेख्नुभएको थियो ।

साइबर अपराधको मुद्दा चलाइएका पौडेल यसअघि झुटा विवरण राखेर नागरिकता र राहदानी लिएको कसुरमा दोषी ठहर हुनुभएको थियो । काठमाडौं जिल्ला अदालतले ५ माघ २०७७ मा उहाँविरुद्ध २५ हजार जरिवाना सुनाएको थियो ।

पौडेल फरार रहेकाले नभेटिएको भन्दै उहाँलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

Back to top button