कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

सुर्खेत । अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार हुनुभएको छ । अहिले केहीबेरमा बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उहाँको तयारी छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर, माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार हुनुभएन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो ।

तर, प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिनुभयो । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गर्नुभएको थियो ।

त्यसपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार हुनुभएको हो । माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले भन्नुभयो,‘सदनलाई सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुन्छ ।’

प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । यो बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी थियो । अब उहाँले राजीनामा दिने तयारी गर्नुभएको छ ।

Back to top button