उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्‍दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । आजको बैठकले उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इत्तरपक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन ।

बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गर्नुभएको थियो । यता महामन्त्री गगन थापा समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान रहेको छ ।

क्षेत्रीय कार्यसमितिको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन,चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ ।

आज बिहान आकांक्षीसँग छलफल गरेपश्चात दिउँसोको बैठकमा उम्मेदवार तय हुनेछन् । आकांक्षी धेरै भएपनि मुख्य प्रतिस्पर्धा खड्का र आचार्यबिच हुनेछ । खड्का यस अगाडि नेम्वाङसँग हार्नुभएको थियो ।

उनीहरुबीच छलफल गरेपछि आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने पौडेलले जानकारी दिनुभयो । आगामी वैशाख १५ गते प्रतिनिधिसभामा इलाम–२ र प्रदेशसभामा बझाङ–१ मा उपनिर्वाचन हुँदैछ ।

इलाम–२ मा नेकपा एमालेले स्व.सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी परित्याग गर्नुभएका मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ ।

एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने गरी औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएपनि आन्तरिक सर्कूलर जारी भएको छ । माओवादीको इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

एमालेले बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ ।

Back to top button