आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ६९ रनले पराजित

काठमाडौं । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ६९ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले ३९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाएको हो।

नेपालका लागि अर्जुन कुमालले सतक प्रहार गर्नुभयो । उहाँले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गर्नुभयो। त्यसैगरी अर्जुन साउदले ३६ रन बनाउनुभयो भने अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।

आयरल्यान्डका लागि वेन ह्वाइटले सर्वाधिक ५ विकेट लिनुभयो । त्यसैगरी गाभिन होइले ४ विकेट र फियोन ह्यान्डले १ विकेट लिनुभयो ।

त्यस अगाडि नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ का स्टेफन डोहेनीले शतक प्रहार गर्नुभएको थियो । उहाँले १२९ बलमा २ छक्का र ८ चौकासहित १०७ रनको योगदान गर्नुभयो।

त्यसैगरी पिटर मुरले ४४ रन,म्याथ्यू हम्फ्रेजले २३ रन, मोरगन टोपिङले २१,फियोन ह्यान्डले २० रन,वेन ह्वाइट १९ रन र गाभिन होइ १४ रन बनाएर पेभेलियन फर्किनुभयो । नेपालका रिजन ढकाल र रन्जित कुमारले ३३ विकेट,विकाश आग्री र साहब आलमले १–१ विकेट लिनुभएका थियो ।

Back to top button