बीमा प्राधिकरण कोशी प्रदेशद्धारा तीनपालिकासँग अन्तरक्रिया

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले ताप्लेजुङ, पाँचथर र तेहृथुमका एक–एक स्थानीय तहहरुमा बीमा सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष केशरकुमार सुब्बाले बीमा जोखिम कभर गर्ने महत्वपूर्ण औजार रहेको भन्दै बीमाको महत्व बुझाउदै धेरै स्थानीय तहले बीमा नीति बनाएर कार्यन्वयन गरिसकेको उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो पालिकाको अघिल्लो बैठकमा समेत विपन्न वर्ग तथा न्यून आय भएका परिवारको पालिका आफैले बीमा गरिदिने बारेमा व्यापक छलफल भईसकेको जानकारी दिनुभयो ।

बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले कृषि बाली तथा पशुधनको बीमांक रकम र बीमा दाबीको सिफारिस गर्नु अघी आधिकारिकता एकिन गर्न अनुरोध गर्नुभएको थियो ।

पाँचथरको हिलिहाङ गाँउपालिकामा भएको कार्यक्रमका पालिक अध्यक्ष समर बहादुर अधिकारीले बीमा प्रतीको आफु लगायत सम्पूर्ण जनप्रतिनिधीहरुको बुझाई यस कार्यक्रम पछी केही भिन्नता ल्याउने भन्दै भौगोलिक अवस्थितिको कारणले आफ्नो पालिकाका अधिकांश जनता कृषिमा निर्भर रहेकोले कृषि सम्बन्धी स–सानो क्षेत्रलाई बीमामा समेट्न सकिएमा सामाजिक सुरक्षाका हिसाबले आफ्नो भार कम गर्दै जोखिममा रहेका समुदायलाई समेत आर्थिक सुरक्षा प्रदान गर्न सकिने बताउनुभयो ।

पालिकाले कृषि बीमामा स्थानीय स्तरबाट समेत बजेट छुट्याई अनुदान दिदै आइरेको साथै आगामी दिनमा समेत बीमा नीति बनाई आफ्नो क्षेत्रमा बीमाको बिकास र विस्तारमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

प्राधिकरणका कोशी प्रदेश प्रमुख पोखरेलले पालिकालाई बीमा सम्बन्धी प्राविधिक सहायता गर्न आफुहरु सदैब तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा प्राधिकरण सहायक निर्देशक पुष्पा खनालले कार्यक्रम कार्यक्रममा प्रस्तुतिकरण दिनुभएको थियो ।

तेह्रथुमको आठराई गाँउपालिकामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज शर्माले बीमाको प्रकारका साथै यसको महत्व र पालिकाले बीमाको विकास र विस्तार पु‍र्‍याउन सक्ने योगदानको बारेमा जानकारी प्राप्त गर्न सफल रहेको भन्दै आगलागि लगायत कृषिबालीमा रहेका विभिन्न किसिमका जोखिम रहेको आफ्नो पालिकामा उक्त जोखिम बिरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न बीमा महत्वपुर्ण रहने जानकारी दिनु भयो ।

प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोदकुमार पोखरेलले प्राधिकरण, बीमक, स्थानीय सरकारलगायत सबैको समन्वयमा बीमा साक्षरता कार्यक्रम गरी सबैलाई बीमाको दायरामा ल्याउन सकिएमा बीमक, बीमित लगायत सबै पक्ष फाइदामा रहने बताउनु भयो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले सरोकारवाला निकाय लगायतसँग नियमित रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

Back to top button