कांग्रेसले सदन निरन्तर अवरुद्ध गरेपछि अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

काठमाडौं । नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

सहकारी ठगीमा संलग्न भएको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई नै केन्द्रमा राखेर कांग्रेसले माग गरेको समिति गठन गर्न नसकिने स्पष्ट पार्दै आउनुभएको छ ।

उहाँले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएकाले छानबिन समिति गठन नहुने बताउनुभएको हो ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा समेत संसदको गतिरोध अन्त्य, उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको थियो।

भेटपश्चात पत्रकारसँग अध्यक्ष ओलीले कांग्रेसले संसद चल्न नदिएको बताउनुभयो । उहाँले कांग्रेसले सदन चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो,‘कांग्रेसले संसद चल्न दिएन,अब अधिवेशन अन्त्य गर्नुपर्छ ।’

Back to top button