जे सहमति गर्छौं त्यसको आधारमा अघि बढौंः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशन अन्तर्गत अन्तिम बैठक बसिरहेको छ । आज पनि विपक्षी दलका सांसदहरू सदन अवरुद्ध गर्न उठेपछि सभामुख देवराज घिमिरेले असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।

कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी पालना नगरिएको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएको हो । समिति बैठकमा केही कार्यसूची हटाएर जरुरी विषय मात्र सदनमा प्रवेश गराउने सहमति भएको थियो । सोहीअनुसार बैठक अघि बढाउन खोज्दा कांग्रेस, राप्रपा, लोसपाका सांसद उठेका थिए ।

सभामुखले सहमतिको आधारमा अघि बढ्न आग्रह गर्दै गलत परिपाटी नबसाउन ध्यानाकर्षण गराउनुभयो । कार्यसमितिमा भएका धारणा र निर्णयको आधारमा बैठक सञ्चालनमा सहज गर्न अनुरोध गर्दै उहाँले भन्नुभयो,‘ समितिमा एउटा कुरा गर्ने, यहाँ आएर अर्को कुरा गर्ने हामी कस्तो पारिपाटीको विकास गर्दैछौं ? यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहौँ । जे सहमति गर्छौं त्यसको आधारमा अघि बढौं ।’

त्यसपछि उहाँले ७ वटा कार्यसूची हटाइएको जानकारी गराउनुभयो । सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुका साथै लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित सदस्यको नाम नामेसी पढेर सुनाउने कार्यसूचीमात्र समावेश गरिएको छ । त्यस्तै चालू अधिवेशनमा भए–गरेका काम कारबाहीको संक्षिप्त जानकारी गराइएको छ ।

Back to top button